देशैभर जोडियो निःशुल्क इन्टरनेट |
काठमाडौं । देशैभर उच्च गतिको इन्टरनेट पुर्याउने परियोजना सम्पन्न भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरी सुरु गरिएको यो परियोजनाअनुसार असार मसान्तसम्म देशैभर सार्वजनिक निकायमा इन्टरनेट जडान सम्पन्न भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
परियोजनाअन्तर्गत उपत्यकाबाहेकका ७४ जिल्लाका १६ हजार ११७ सार्वजनिक निकायमा इन्टरनेट जोडिएको हो । यस्तो इन्टरनेट सम्बन्धित निकायले दुई वर्षसम्म निःशुल्क उपयोग गर्न पाउनेछन् । त्यसपछि सर्वसाधारणले समेत राजधानीकै शुल्कसरह इन्टरनेट प्रयोग गर्न पाउने प्राधिकरणले जनाएको छ ।
परियोजना अन्तर्गत सम्झौता भएका ७०८ स्थानीय निकाय, पाँच हजार ९३३ वडा कार्यालय, पाँच हजार २९९ माध्यमिक विद्यालय र चार हजार २३७ स्वास्थ्य संस्था सबैमा इन्टरनेट जोडिएको प्राधिकरणले उल्लेख गरेको छ । इन्टरनेट सेवा प्रदायकबीच नै प्रतिस्पर्धा गराएर प्राधिकरणले इन्टरनेट जडानको काम अगाडि बढाएको थियो ।
देशभर उच्च गतिको इन्टरनेट (ब्रोडब्यान्ड)को पहुँच बढाउने र डिजिटल नेपालको लक्ष्य कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्यसहित परियोजना अघि बढाइएको थियो ।
प्राधिकरणले परियोजनालाई विभिन्न १८ वटा प्याकेजमा विभाजन गरेर सेवा प्रदायकसँग सम्झौता गरेको थियो । सोअनुसार सेवा प्रदायकले तोकिएका सार्वजनिक निकायसम्म इन्टरनेट नेटवर्क पु(याउने र दुई वर्षसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने सर्त राखिएको थियो