१० दिनमा मर्जर निर्देशिका आउँछ, एक महिनामा भेन्चर क्यापिटलले लाइसेन्स पाउँछन् ː अध्यक्ष हमाल |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीहरूको कारोबार रोक्का हुने व्यवस्था हटाउने भएको छ।
बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश हमालले मर्जरमा गएका कम्पनीहरूको कारोबार रोकिने व्यवस्था हट्ने बताएका हुन्। “आगामी १० दिनभित्रै मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी गर्छौं। आगामी २० दिनभित्र उक्त व्यवस्था कार्यान्वयन आउँछ” हमालले भने।
अहिले मर्जरमा जाने कम्पनीहरूले एकीकृत कारोबार नगरेसम्म दोस्रो बजारमा शेयर कारोबार रोकिदै आएको छ। हमालले भनेकै समयमा उक्त व्यवस्था भए आउने दिनमा कारोबार रोक हुने अवस्थाको अन्त्य हुने छ। नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जर तथा प्राप्तिको समयमा शेयर कारोबार रोक्का गर्ने काम धितोपत्र बोर्डको नियम अनुसार हुने उल्लेख गरेको थियो।सोही व्यवस्थालाई कार्यान्वयनमा लैजान बोर्डले उक्त व्यवस्था गर्न लागेको हो।
एक महिनामा भेन्चर क्यापिटल र प्राइभेट इक्वीटी फण्डले लाइसेन्स पाउने भएका छन्। अध्यक्ष हमालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी १ महिनामा भेन्चर क्यापिटल र प्राइभेट इक्वीटि फण्डले समेत लाइसेन्स पाउने घोषणा गरेका हुन्। गएको पाँच वर्ष देखि लाइसेन्स प्रक्रिया रोकिँदै आएको थियो। ६ कम्पनीले एलओआइ पाइ सकेको अवस्थामा मर्चेन्ट बैंकलाई लाइसेन्स दिने कि नदिने अन्योल सिर्जना भएको थियो। नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकलाइ छुट्टै नियमन गर्ने गरी लाइसेन्स दिने हमालको भनाई छ।
नेपाल धितोपत्र बोर्डले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ। सोही क्रमलाई बिहीबार एक कार्यक्रमको आयोजना गर्दै बोर्डले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्यो। बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भने खासै नयाँ कुरा समेटिएका छैनन्। गएका बर्ष नै रहेका कार्यक्रमलाई नै केही नयाँ शब्दावलीमा कर्मकाण्डी कार्यक्रम सार्वजनिक गरेको हो।