मन्दाकिनी हाइड्रोपावरको आइपीओमा पर्यो १६ लाख १० हजार बढीको आवेदन |
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (साउन १२ गते) साँझ ५ः०२ बजेसम्ममा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १६.५३ गुणा बढी आवेदन हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ । यो आइपीओ भर्ने आज अन्तिम दिन हो ।
कम्पनीले साउन ९ गतेबाट ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यो मध्ये ५% अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । मन्दाकिनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।