भदौ १ गतेदेखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयवासीकाे चेतावनी |

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेदेखि डम्पिङ साईट अनिश्चित्कालका लागि बन्द गर्ने चेतावनी दिएको छ । फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष सम्वेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्नेलगायतका आवश्यक कार्यको प्रारम्भ आगामी साउन ३१ गतेसम्म सुरु नगरे सधैंका लागि बन्द गर्ने चेतावनी दिएको हो ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर समितिले नेपाल सरकार, राजनीतिक दलहरु, प्रशासनिक तथा न्यायिक निकाय, काठमाडौं महानगरपालिकासमेतलाई अन्तिमपटक अनुरोध गरेको छ । सरकारले समितिसँग गरेको सहमति विभिन्न बहाना बनाएर षड्यन्त्र गरी कार्यान्वयन नगर्ने नियत बुझिएको भन्दै उपत्यकाको फोहोरमैला सिसडोल बञ्चरेडाँडा लैजान सधैंको लागि बन्द गर्ने बाध्यकारी आन्दोलन गर्नुको विकल्प नरेहको समेत जनाइएको छ ।
महानगरपालिकाले ल्याण्डफिलसाईट प्रभावित क्षेत्रका नागरिकको आमनरसंहार, वातावरण विनास हुनेगरी प्राणघातक फोहोरमैला डम्पिङ कार्य गर्दा स्थानीय नागरिकहरुले मरेतुल्य अवस्थामा टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै बन्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले आफूहरुको माग पूरा गराउन सम्बन्धित सरोकारवाला निकायको ध्यानाकार्षण गराएका थिए ।
ओखरपौवा प्रभावित क्षेत्रका जनतालाई प्रभावित बनाएर आम मानिसहरुको नरसंहार गर्ने उद्देश्यले काठमाडौं महानगरले आफुहरुको माग बेवास्ता गरेको आरोप लगाए । उनले आगामी भाद्र १ गतेदेखि सदाको लागि उपत्यकाभित्रका फोहोरमैला अब बन्चरेडाँडा ल्याण्डफिल वा सिसडोल ल्याण्डफिल साइटमा विसर्जन गर्न नदिने चेतावनी दिए ।
उनले भने,‘यसबारेमा फोहोरसँग सम्बन्धित र मन्त्रालय, महानगर सबैलाई दिइसकेका छौं । अब कुनैपनि बहानामा छुट दिँदैनौ ।’
महानगरले १८ वर्षसम्म ५० अर्ब भन्दा बढी त्यहाँको क्षति बनाइएको भन्दै उनले अब क्षतिपुर्ति दिनुपर्ने समेत माग गरे । ढुंगानाले फेरी पनि विभिन्न बहानामा मुलुकलाई बन्धक बनाइन खोजेको आरोप लगाए । उनले भने,‘आगामी भदौ १ गतेदेखि सरकारी सेता गाडी नुवाकोट र धादिङमा प्रवेश गर्न दिँदैनौ । फोहोरका गाडी पनि छिर्न दिँदैनौं ।’