नेप्से सूचक १५.४७ अंकले बढ्यो, ५ अर्बको सेयर कारोबार |
काठमाडौं । बिहीबार सुरुवाती समयमा उच्च अंकले बढेर २१५६ विन्दुसम्म पुगेको नेप्से सूचक साढे २ बजेपछि बजारमा बिक्री कर्ता हाबी हुँदा सूचक २१०७ विन्दुसम्म झरेको थियो।
अन्तिम केहि मिनेटमा भने १५ अंक बढेर बन्द भएको छ। बिहीबार नेप्से सूचक १५.४४ अंकले बढेर २१२७.४२ विन्दुमा पुगेको छ भने ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर कारोबार भएको छ। बजारमा उच्च अंकको उतारचढाव हुँदा कारोबार रकम पनि निकै बढेको छ। ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बढ्दोक्रममा रहेको सूचकलाई कारोबार रकमले पनि साथ दिइरहेको छ ।
करिब १ अर्बमा झरेको कारोबार रकम विस्तार हुँदै दैनिक ४ अर्ब हाराहारीमा पुगेको छ । यसबाट लगानीकर्ताहरुमा थोरै भए पनि आशाको सञ्चार वृद्धि भएको छ । चौथो त्रैमासको रिपोर्टमा औसतमा कम्पनीहरुको मुनाफामा आकर्षक वृद्धि देखिएपछि त्यसले सकारात्मक प्रभाव पार्न सहयोग पुर्याएको हो ।
यस दिन २२१ कम्पनीको १ करोड १९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । करिब १८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा अरुण काबेली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र अपर तामाकोशी हाइड्रोपावर परेका छन् ।