ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब २० करोड, अघिल्लो वर्षभन्दा २५ प्रतिशतले वृद्धि |
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड रुपैैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफा २५ प्रतिशतले वृद्धि गरेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा बैंकले ४ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ९.२७ प्रतिशतले बढेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी १५.०४ प्रतिशत र सञ्चालन मुनाफा २६.९० प्रतिशतले बढेको छ । गत वर्षको असार मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षमा कुल २ खर्ब ८६ अर्ब बचत संकलन गरेको छ भने २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको बचत तथा कर्जा लगानी सकारात्मक रूपमा वृद्धि भएको छ । बैंकको कुल ब्याज आम्दानी १० अर्ब ७४ करोड छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५२ प्रतिशतले बढेको छ । बैंकको नाफासँगै प्रति सेयर आम्दानी ( ईपीएस) पनि बढेको छ ।
समीक्षा अवधिमा बैंकको ईपीएस अघिल्लो आर्थिक वर्षको तुलनामा २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ । यस अवधिमा बैंकको चुक्ता पुँजी १० प्रतिशतले बढेको छ । त्यसैगरी जगेडा कोष २०.४२ प्रतिशतले बढेको छ । बैंकले आफ्नो खराब कर्जामा पनि सुधार ल्याएको छ ।