सिक्लेस हाइड्रोपावरको आइपीओ बिक्री आजबाट खुला |
काठमाडौं । सिक्लेस हाइड्रोपावरले आज (साउन ६ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यसमा छिटोमा साउन २० गतेसम्म र ढीलोमा भदौ ५ गतेसम्म आइपीओ खुला रहनेछ । स्थानीय बासिन्दाले यसमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमान्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसीया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।