साउन १३ गतेदेखि सयपत्री हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने |
काठमाडौं । सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५% अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २% अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । छिटोमा साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने साउन २७ गतेसम्म खुला रहनेछ । आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।
साथै, मेरोसेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ। यो आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । सयपत्रीले बाग्लुङ्ग जिल्लामा २.५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।