मिर्मिरे लघुवित्तको विशेष साधारण सभा सम्पन्न |
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण शभा शुक्रवार काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ ।
सभामा कम्पनीका सञ्चालक एवम् मर्जर तथा एक्विजिसन समितिका संयोजक सन्तोष फुयालले वित्तीय संस्थाले दुई आर्थिक वर्षको अवधिमा नागबेली लघुवित्त र स्वेडा लघुवित्त संस्थाहरुलाई प्राप्ति गरिसकेको र यस पटक भैरहवामा केन्द्रीय कार्यालय रहेको बुद्द ज्योति लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रयोजनका लागि विशेष साधारण बोलाइएको बताए ।
यसैगरी सभाले बुद्दज्योति लघुवित्त वित्तीय संस्थालाई स्वाप रेशियो १०० : ७६ मा प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मत अनुमोदन गरेको छ । सो अवसरमा कम्पनीका अध्यक्ष टेक बहादुर बोहराले चालू आर्थिक वर्षमा ३५ प्रतिशतले निक्षेप, ३३ प्रतिशतले कर्जा र ४ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको बताए ।
शेयरधनीहरुको तर्फबाट शिव प्रसाद पौडेलले कम्पनीको उपलब्धिको प्रशंसा गर्दै बुद्धज्योतिसँगको एकीकृत कारोबारको लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव पुष्कर राज जोशीले गरेका थिए । प्राप्ति पश्चात् कम्पनीको चुक्तापूँजी ५४ करोड १२ लाख रुपैयाँ पुग्ने कम्पनीले बताएको ।
२०७९ आषाढ ३० सम्मको वित्तीय विवरण अनुसार लगानीमा रहिरहेको कर्जा ८ अर्ब ८१ करोड रुपैयाँ र निक्षेप संकलनतर्फ २ अर्ब ६८ करोड रुपैयाँ रहेको कम्पनीले मुलुकका ६१ ओटा जिल्लाहरुमा १४८ ओटा शाखा सञ्जालमार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको बताएको छ ।