आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहर छुट्टयाएर मात्र फाल्न पाइने | आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोर संकलन हुने
काठमाडौं । काठमाडौंका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्या1एमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ ।
हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोर संकलन र व्यवस्थापनको काम गरिने छ । आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिनेको फोहोर संकलन र व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बताइन् ।
पछिल्लो समय कामपालगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा पटक पटक समस्या आएपछि फोहर व्यवस्थापनमा सहजताका लागि कामपाले यस किसिमको अभ्यास सुरु गर्न लागेको हो ।