राप्ती हाइड्रोको आईपीओमा पहिलो दिनमै ३ लाखको आवेदन |
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको शेयरमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ पहिलो दिन नै १.५६ गुणा बढी आवेदन परेको हो ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार ५ बजेसम्ममा २ लाख ९७ हजार ३३९ आवेदनबाट ३४ करोड ९ लाख ९ हजार रुपैयाँ बराबरको ३४ लाख ९ हजार ९० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई छुट्टाएको २१ लख ७६ हजार ९४० कित्ताको १.५६ गुणा बढी हो ।
कम्पनीले २३ करोड २८ लाख ६१ हजार ७०० रुपैयाँ बराबरको २३ लाख २८ हजार ६१७ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ६९ हजार ८५९ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात एक लाख १६ हजार ४३१ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ ।
सर्वसाधारणले बाँकी रहने २१ लाख ४२ हजार ३२७ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गरेको शेयरमा साउन १ गतेसम्ममा आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम २१ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा लक्ष्मी क्यापिटल, नविल इन्भेष्टमेण्ट र सनराईज क्यापिटल लिमिटेड रहेको छ ।