इन्द्रेणी मसरुम फार्मको आइपीओ निष्काशनमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नियुक्त |
काठमाडौं । इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणहरुमा शेयर निष्काशन गर्नकालागि असार २७ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।
उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।
नेपालमा च्याउ खेतीको शुरुवात भएको लामो समय व्यतित भई सके पनि सफल हुन नसकिएको अवस्थामा इन्द्रेणी मसरुम फार्मले नेपालमा पहिलो पटक आधुनिक प्रविधि भित्र्याई च्याउ उत्पादन गरिरहेकाे छ । इन्द्रेणी मसरुम फार्मको उद्देश्य अनुसार नेपालमा गुणस्तरिय च्याउ उत्पादन गर्ने योजना बनाई उक्त कम्पनीले स्थापनादेखि द्रुत गतिमा आफ्नो क्षमता वृद्धि गर्दै आईरहेको छ । कम्पनीले आधुनिक च्याउ फार्म शुरु भएको केही समयमै ऐतिहासिक रुपमा नयां प्रविधिबाट गोब्रे च्याउ उत्पादन गर्न शुरु गरेको छ र हाल दैनिक रुपमा च्याउ उत्पादन गर्दै आईरहेको छ ।