११६ अंकको बृद्धिपछि नेप्सेमा ८ अंकको करेक्सन |
काठमाडौं । शुक्रबार नेप्से सूचक ८.८७ अंकले घटेर २०२८.७७ विन्दुमा आएको हो । यसअघि २ दिनमै सेयर बजार सूचक ११५ अंकले बढेपछि शुक्रबार अल्पकालीन कारोबारीहरु सक्रिय भएको विश्लेषण गरिएको छ । सूचक दबाबमा आएपनि यस दिन कारोबार रकम भने अकर्षक देखिएको छ ।
दुई घण्टामै १ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । गत साता धितोपत्र बोर्ड र लगानीकर्ताहरुबीच सेयर बजार सुधारका लागि सहमति भएयता समग्रमा बजार सकारात्मक बनेको छ । लगानीकर्ताहरु पनि बजारप्रति केही आशावादी बन्न थालेका छन् । अब मौद्रिक नीति पनि बजारमैत्री आउन सकेमा सेयर बजार थप सकारात्मक बन्ने लगानीकर्ताहरुले आशा गरेका छन् ।
बजारमा आम लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक हुन आवश्यक छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन रणनीति बनाएर लगानी गर्नुपर्नेमा बजारका जानकारहरुले जोड दिएका छन् ।
शुक्रबार २२० कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता सेयर कारोबार भएको छ । यस दिन आँधिखोला लघुवित्त र सीवाईसी लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ५ करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एसियन लाइफ इन्सुरेन्स र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।