सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप |
काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले असार १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। बैंकले निष्काशन गरेको १० वर्ष अवधिको 'एसबिएल डिबेन्चर २०८९’ मा अब असार २४ गतेसम्म आवेदन दिन सकिने भएको छ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ भने बाँकी ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिएको ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।