हिमालयन क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन |
काठमाडौं ।हिमालयन क्यापिटलले वुमन लिड संस्थाका सदस्यहरूका लागि एक दिने उद्यमशीलता प्रवर्द्धन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले महिला उद्यमीहरूलाई कुनै पनि व्यापार व्यवसाय स्थापना गर्न र सफल रुपले सञ्चालन गर्नको निम्ति आवश्यक ज्ञान र सीपहरुको जानकारी र प्रशिक्षण प्रदान गरिएको थियो ।
व्यापार व्यवसाय स्थापना र सञ्चालन गर्नका निम्ति आवश्यक नियम कानून सम्बन्धि जानकारी, आवश्यकताअनुसार पुँजी को व्यवस्थापन गर्नका निम्ति उचित वित्तीय व्यवस्थापन, उत्पादित वस्तु र सेवाको बजार प्रवर्धन, आयकर सम्बन्धि व्यवस्थाको परिपालन, र व्यापार व्यवसाय सफल रुपले सञ्चालन गर्न आवश्यक अन्य सिप तथा ज्ञानको बारेमा सहभागीहरुलाई जानकारी प्रदान गरि दिगो उद्यमशीलता प्रबर्धन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले देशको आर्थिक तथा सामाजिक अवस्थाको विश्लेषण गर्दै अहिलेको परिवर्तनशील पृष्ठभूमिमा उद्यमीहरुले सार्थक र सान्दर्भिक क्रियाकलाप गर्दै आफ्नो व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिंदै दिगो रुपले व्यवसाय संचालन गर्न प्राथमिकतामा राख्नुपर्ने विषयहरु सम्बन्धि जानकारी प्रदान दिए । हिमालयन क्यापिटलका संस्थागत परामर्श विभागका प्रमुख मुज मानन्धर प्रशिक्षक रहेको उक्त कार्यक्रमबाट ३० जना भन्दा वढी प्रशिक्षार्थीहरु लाभान्वित भएका छन् ।