टेलिकमको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम |
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो ।
इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २ हजार ५ सय रूपैयाँ रहेकोमा अब एक हजार ६ सय रूपैयाँ मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २ हजार ३ सयबाट घटाएर १ हजार ६ सय रूपैयाँ नै कायम गरिएको छ ।
५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २ हजार १ सय रूपैयाँ र १ हजार ९ सय रूपैयाँ रहेकोमा अब दुवैको महशुल दर १ हजार ५ सय रूपैयाँ कायम गरिएको छ ।
इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २ हजार ७ सय रूपैयाँ रहेकोमा अब २ हजार ४ सय रूपैयाँ, ११ देखि १०० एमबीपीएसको २ हजार ४ सय रूपैयाँ रहेकोमा अब २ हजार १ सय रूपैयाँ र १०० एमबीपीएस भन्दा बढीको २ हजार १ सय रूपैयाँ रहेकोमा अब १ हजार ८ सय रूपैयाँ कायम गरिएको छ ।
नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका माग अनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैँ बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ ।