अझै ३१ प्रतिशत बजेट खर्च हुन बाँकी, संशोशित लक्ष्यको ६८.४२ प्रतिशत मात्रै खर्च |

काठमाडौं । चालु आर्थिक वर्षको एक महिनाभन्दा कम अवधि बाँकी रहँदा सरकारले बजेटको ३१ प्रतिशतभन्दा धेरै रकम खर्च गर्न बाँकी रहेको देखिएको छ। चालु आर्थिक वर्षमा सरकारले कुल १६ खर्ब ३२ खर्ब रुपैयाँको बजेट ल्याएपनि त्यसलाई घटाएर १५ खर्ब ४६ अर्ब रुपैयाँमा झारेको थियो। आइतबारसम्ममा संशोशित लक्ष्यको ६८.४२ प्रतिशत मात्रै खर्च भएकाे छ।
संशोधित लक्ष्यअनुसार पनि सरकारले ३१.८४ प्रतिशत बजेट खर्च गर्न बाँकी छ जुन २४ दिनभित्र खर्च गर्नुपर्ने छ।
संशोधित लक्ष्यअनुसार ४ खर्ब ८८ अर्ब २९ करोड रुपैयाँ बजेट खर्च हुन बाँकी छ। यस आधारमा अबका दिनमा सरकारले दैनिक २० अर्ब ३४ करोड रुपैयाँ बजेट खर्च गर्नुपर्छ। त्यसमा पनि शनिबार र सार्वजनिक विदाका दिन बजेट खासै खर्च नहुने भएकोले अन्य दिन यो भन्दा पनि धेरै बजेट खर्च गर्नुपर्ने अवस्था छ।
असार ५ गतेसम्ममा सरकारले १० खर्ब ५७ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च गरेको छ। यसमा पूँजीगत खर्चको अवस्था निकै नै खराब देखिन्छ। यसैले गर्दा पनि चालु आर्थिक वर्षमा सरकारको खर्च झनै निराशजनक हुने देखिएको छ। यस वर्ष सरकारले गत वर्ष जति पनि पूँजीगत खर्च गर्न नसक्ने देखिन्छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले असार ५ गतेसम्ममा लक्ष्यको ३७.२४ प्रतिशत अर्थात १ खर्ब ४० अर्ब रुपैयाँ मात्रै पूँजीगत खर्च गरेको छ। यस वर्ष ३ खर्ब ७८ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य लिएको हालसम्मको खर्चको अवस्था निकै निराशजनक देखिन्छ। यही महिनाभित्र सरकारले ६३ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने छ।