अब ब्रोकरले आफ्नै टीएमएस सञ्चालन गर्न पाउने |
काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले अब आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठकले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ (तेस्रो संशोधन) स्वीकृत गरेसँगै ब्रोकरले आफ्नो छुट्टै टीएमएस सञ्चालन गर्न पाउने भएका हुन् । नेप्से स्रोतका अनुसार सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त विनियमावली स्वीकृत गरेको हो ।
‘विनियमावली नेप्से सञ्चालक समितिबाट पारित भइसकेको छ । अब एक–दुई दिनमै सार्वजनिक सूचना निकालेर कार्यान्वयनमा लगिनेछ’ स्रोतले भन्यो । ब्रोकरहरुले गत साउन १ गतेदेखि नै आफ्नै टीएमएस सञ्चालनमा ल्याउने भने पनि नेपाल धितोपत्र बोर्ड र नेप्सेबाट विनियमावली स्वीकृत नहुँदा सञ्चालनमा ल्याउन पाएका थिएनन् ।
नेप्सेले सूचना प्रविधि कार्यविधि बनाएर ब्रोकरहरुले आफ्नै टीएमएस सञ्चालन गर्न सक्ने व्यवस्थासहितको प्रस्ताव स्वीकृतिका लागि बोर्डमा पठाएको थियो । उक्त कार्यविधिमा टीएमएस प्रयोग गरे वापत नेप्सेलाई तिर्नुपर्ने शुल्क समावेश गरिएको थियो । शुल्कको विषय कार्यविधिमा राख्न नमिल्ने र त्यसलाई नियमावलीमा राख्नुपर्ने भनेर उक्त प्रस्ताव संशोधन गरेर फिर्ता पठाइदिएको थियो ।
बोर्डबाट फिर्ता आएको प्रस्ताव नेप्सेले पुनः विनियमावली संशोधन गरेर बोर्डमा पठाएको थियो । बोर्डमा नयाँ नेतृत्व आएसँगै ब्रोकरलाई आफ्नो छुट्टै टीएमएस सञ्चालन गर्न दिने तयारी भएको थियो । सोहीअनुसार बोर्डबाट विनियमावली स्वीकृत भएर नेप्से पठाइएको छ ।
उक्त विनियमावली नेप्से सञ्चालक समितिबाट पनि पारित भएकाले अब छिट्टै ब्रोकरले आफ्नै टीएमएस सञ्चालन गर्न पाउने भएका हुन् । यता, ब्रोकरहरुले पनि आफूहरुले अब आगामी साउन १ गतेदेखि नै टीएमस ल्याउने तयारी गरेको बताउँदै आएका छन् ।