सुविधा नपाउने भएपछि धमाधम बिग मर्जरमा जान थाले बैंकहरु |
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई असारपछि मर्जरमा पाइने छुट तथा सुविधा कटौती गर्ने बताएसँगै पछिल्लो समय वाणिज्य बैंकहरुले धमाधम मर्जर सम्झौता गर्न थालेका छन् । केन्द्रीय बैंकले वाणिज्य बैंकहरुका सञ्चालक समिति अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई छलफलमा बोलाउँदै असारभित्र मर्जमा नगए त्यसपछि हाल दिइंदै आएको छुट तथा सुविधा कटौती गर्ने बताउँदै आएको थियो ।
असारपछि छुट तथा सुविधा नपाइने भएपछि अहिले अधिकांश वाणिज्य बैंकहरुबीच मर्जर तथा एक्विजिसनको लहर चल्न थालेको छ । पछिल्लो समय मात्रै ६ वटा वाणिज्य बैंकले मर्जर तथा एक्विजिसन सम्झौता गरिसेकका छन् । असार २ गते) बिहीबार मात्रै ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले मर्जरमा जाने सम्झौता गरेका छन् । दुई बैंकबीच मर्जर भएसँगै मुलुकको ठूलो बैंक बन्ने भएका छन् ।
दुवै बैंक १ः१ अनुपातमा मर्जमा जानेगरी सम्झौता गरेका छन् । मर्जरपश्चात ग्लोबल आइएमई बीओके बैंकको नाममा एकीकृत कारोबार जानकारी दिइएको छ । हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।
यस्तै, जेठ २७ गते नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच पनि मर्जर सम्झौता भइसकेको छ । दुई बैंकबीच १००ः९० अनुपातमा स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । जस अनुसार मेगा बैंकका १०० कित्ता सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता प्राप्त गर्नेछन् । मर्जरपश्चात नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ । ९०% को स्वापमा मर्जर हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पुँजी ३३ अर्ब हाराहारी पुग्नेछ । हिमालयन बैंकसँग मर्जर प्रक्रिया तोडिएसँगै इन्भेष्टमेन्टले मेगासँग मर्जर प्रक्रिया अगाडि बढाएको हो । यता, नबिल र नेपाल बैंगलादेश बैंक असारभित्रै एकीकृत कारोबार गर्ने तयारीमा छन् ।
गत जेठमा नबिल बैंक र नेपाल बंगलादेश बैंकको जेठ ७ गते बसेको विशेष साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्न गाभिनका लागि अख्तियारी दिएको थियो । नबिलले एनबी बैंकलाई ४३ रुपैयाँमा प्राप्ति गर्ने सम्झौता गरेको हो । जस अनुसार दुवै बैंक एक भएपछि बंगलादेश बैंकका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् । यससँगै पछिल्लो समय नबिल बैंकले पुनः एनसीसी बैंकलाई पनि प्राप्ति (एक्वायर) को तयारी थालेको बुझिएको छ ।
पछिल्लो समय मर्जरमा हस्ताक्षर गर्नेमा अधिकांश ठूला बैंकहरु रहेका छन् । योसँगै साना बैंकहरुलाई पनि मर्जरमा जान दबाब परेको छ । फलस्वरुपः दर्जनभन्दा बढी बैंकहरुले मर्जर तथा एक्विजिशनका लागि छलफल चलाएका छन् । मर्जर तथा एक्विजिशनका लागि छलफल चलाउनेमा हिमालयन, सिभिल, प्रभु, माछापुच्छ«े, सेञ्चुरी कमर्सियल, सिटिजन्स इन्टरनेसनल, कुमारी, सिद्धार्थ, सनराइज बैंक लगायत छन् ।