एनआइसी एसिया फ्लेक्सी क्याप फन्डमा आजसम्म आवेदन दिन सकिने |
काठमाडौँ । एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड (म्युचुअल फन्ड युनिट) मा आवेदन दिने आज जेठ २५ गते बुधबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछन् । यसले जेठ १९ गतेबाट एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड बिक्री खुला गरेको हो । यस फन्डले १० करोड इकाई निष्कासन खुला गरेको हो । जसअनुसार यसले प्रतिइकाई १० रुपैयाँमा १ अर्ब रुपैयाँ बराबरको फन्ड जारी गरेको छ ।
कुल १० करोड इकाईमध्ये बीज पुँजीवापत न्यूनतम १ करोड ५० लाख अर्थात् १५% इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । एनआइसी एसिया फ्लेक्सी क्याप फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ । यो ७ वर्षे बन्दमुखी म्युचुअल फन्ड योजना हो । यस म्युचुअल फन्ड योजनाको व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ ।