विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन |
काठमाडौँ । विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज जेठ २५ गते बुधबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछन् । मंगलबार साँझ ५ः३२ बजेसम्ममा हाइड्रोपावरको आइपीओमा १ अर्ब ६८ करोड ३ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । १५ लाख ४१ हजार ८३७ जना सर्वसाधारण आवेदकले उक्त आवेदन दिएका हुन् । यसले जेठ २० गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको छ । यो मध्ये ५% अर्थात् ७५ हजार कित्ता सामुहीक लगानी कोष र ४% अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यलगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।