गण्डकी प्रदेशकाे नीति तथा कार्यक्रम : स्वास्थ्य र सामाजिक क्षेत्रमा विशेष जाेड |
पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।मंगलबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका २८६ बुँदामा केही महत्वाकांक्षी र केही पुरानै योजना राखिएका छन् ।
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पहिलो बैठकले २ वर्षभित्र सबै प्रदेशवासीको घरधुरीमा आधारभूत खानेपानी पुर्याउने निर्णण गरेको थियो र त्यसैअनुरुप नीति तथा कार्यक्रम र बजेट पनि सार्वजनिक भएको थियो । योसँगै २ वर्षभित्र नै उज्यालो प्रदेश घोषणा गरिने बताएको थियो । तर, त्यो कार्यक्रम सम्पन्न हुन अझै २ वर्ष लाग्ने भन्दै वर्तमान सरकारले पनि नीति तथा कार्यक्रममा निरन्तरता दिएको छ ।
कार्यक्रम घोषणा भएको करिब साढे ४ वर्षपछि अहिले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएको अन्तिम नीति तथा कार्यक्रमले सबै जनताको पहुँचमा खानेपानी र बजिुली पुग्न अझै २ वर्ष लाग्ने बताएको हो ।
नीति तथा कार्यक्रममा अबको २ वर्षभित्र खानेपानीको पहुँचमा सबै जनातालाई पुर्याउने र २०८० भित्र उज्यालो प्रदेश घोषणा गर्ने बताइएको छ । यसपटक सरकारले पूर्वाधार विकासमा कम र खुद्रे कार्यक्रमलाई बढी प्राथमिकतामा राखेको छ ।
गण्डकी प्रदेशले यसै वर्षदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी मृगौला प्रत्यारोपण सेवा प्रदेशमा नै आरम्भ गर्ने घोषणा गरेको छ । प्रतिष्ठानसँगकै सहकार्यमा गण्डकी प्रदेशमा ५० शय्याको मुटु रोग अस्पताल स्थापना गरिने कार्यक्रम सरकारले ल्याएको छ ।
गण्डकी विश्वविद्यालयमा चिकित्सा विज्ञान र सूचना प्रविधिसम्बन्धी विषयको अध्ययन–अध्यापन गराउने र प्रदेशमा ५०० शय्याको शिक्षण अस्पताल स्थापनाको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य सुरु गर्ने सरकारको नीति छ ।
त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न गुरूयोजना तयार गरी दिव्यधाम क्षेत्र विकासका कार्यक्रम सञ्चालनमा गर्ने सरकारको योजना छ ।गण्डकी प्रदेश जाऔं स् गुणस्तरीय शिक्षा पाऔं भन्ने नारालाई मूर्त रूप दिन शिक्षा सुधार योजना बनाएर कार्यान्वयनमा ल्याउने सरकारको कार्यक्रम छ ।
विदेशबाट फर्केका तथा स्वदेशभित्र हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने तर रोजगारीको अवसरबाट वञ्चित युवालाई नवीन उद्यम मार्फत् स्वरोजगार बनाउन सीप, स्रोत र साधन उपलब्ध गराई गरि खाने अभियान सञ्चालन गर्ने सरकारले घोषणा गरेको छ ।
गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा प्रशिक्षक तयार गरी खेलकुद प्रतियोगिता सञ्चालन, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ ।
पोखरा रंगशालाको पूर्वाधारमा सुधार गरी रातको समयमा समेत अन्तर्राष्ट्रियस्तरका खेल सञ्चालन गर्न सकिने बनाउने, रंगशालाको स्वामित्व प्रदेश मातहत ल्याउन पहल गर्ने सरकारको नीति छ ।
हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ
Visited 1 times, 1 visit(s) today