देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट लागु गर्ने निर्णय तुरुन्त खारेज गरियोस: विश्व हिन्दू परिषद् |
काठमाडौं । विश्व हिन्दू परिषद् नेपाल सवारी साधनमा प्रयोगमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गरी इम्बोस्ड नम्बर प्लेटको जडान गर्ने सम्बन्धमा सरकारले गरेको निर्णय प्रति आपत्ति जनाएको छ । परिषद्ले एक विज्ञप्ती सार्वजनिक गर्दै उक्त निर्णय तुरुन्त खारेज गर्ने माग गरेको हो ।
नेपालको संविधान २०७२ को धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख छ । विगत केही वर्ष अगाडि पनि तत्कालिन सरकारले इम्बोस्ड नम्बर प्लेटको प्रयोग गर्न खोज्दा सम्माननीय सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् इम्वोस्ड नम्बर प्लेटको कार्यान्वयनमा रोक समेत लगाएको थियो । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले १० फागुन २०७४ मा इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको थियो ।
नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर र धरासायी बनाउने उद्देश्यसहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गरिनु नेपाली भाषामाथिको ठाडो प्रहार भएको परिषद्ले बताएको छ । निजी स्वार्थसिद्धिका लागि राष्ट्र विरोधी तत्वको प्रभावमा परी देशको भाषा र संविधानको मर्म माथिनै कुठाराघात गरिरहेको परिषद्को आरोप छ ।