यूनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न,मर्जर सम्बन्धी अख्तियारी संचालक समितिलाई |
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त्त साधारणसभा मार्फत आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन, लेखापरिक्षणको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७ /७८ को वासलात, नाफा नोक्सान,हिसाब नगद प्रवाह विवरण सहितका अनुसूचिहरु पारित गरेको छ ।
साथै , सभाले संचालक समितिमा संस्थापक शेयरधनी समुह क को तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरु र सर्वसाधारण समुह ख को तर्फबाट २ जना गरी ६ संचालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
त्यस्तै, कम्पनीले बीमा समितिले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसंँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्णय गर्ने तथा सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने चल अचल सम्पति र दायित्व मुल्याङकन गर्नका लागि मान्यताप्राप्त मुल्याङकनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक लगायत मर्जर सम्बन्धी सम्पुर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि साधारणसभाले अनुमोदन गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा बीमाशुल्क आर्जन ५८ प्रतिशतले वृद्धि गरी १ अर्ब १० करोड ३३ लाख आर्जन गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७६/७७ को तुलनामा यस आ.व. २०७७/७८ मा कम्पनीको नाफामा ५ सय प्रतिशतभन्दा बढिले वृद्धि गरी १० करोड ५२ लाख कमाएको छ ।