राप्ती हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने |
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गते (आज) देखि आईपीओ निष्कासन गरेकोे छ । कम्पनीले कार्यालय समयपश्चात पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानीयमा प्रतिशेयर रू. १०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
यो आईपीओ छिटोमा असार ७ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २२ गतेसम्म विक्री खुला हुने मिति तय भएको छ । आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो आईपीओ खरीदका लागि ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।
साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्तासम्म यो आईपीओ खरीदको माग गर्न सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर सिंगल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
यस कम्पनीले रुकुम जिल्लामा ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी साउन १ गतेदेखि उक्त आयोजनबाट व्यापारिक उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । यस आयोजनाको कुल लागत व्याज सहित रू. १ अर्ब ३३ करोड ४४ लाख २८ हजार हुने अनुमान गरिएको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. ३१ करोड ८६ लाख ५२ हजार ८०० रहेको छ ।
संस्थापकतर्फ जारी पूाजीको ५२ प्रतिशत शेयर स्वामित्व रहेको हो । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर जारी गर्न लागेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ३८ प्रतिशत शेयर जारी गर्नेछ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ६१ करोड २७ लाख ९३ हजार ८०० पुग्नेछ ।
गत आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक सञ्चित नाफा रू. २ करोड २ लाखभन्दा बढी छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३५ रहेको छ । प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको पहिलो कारोबारका लागि मूल्य रेञ्ज कम्पनीले पाउनेछ ।