दुई बर्षदेखि रोकिएको नाडा अटो सो आगामी भदौ ७ गतेदेखि |
काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ ।
यसअघि दुई वर्षसम्म कोभिड १९ को संक्रमणको कारण गर्न नसकिएको अटो शो यो वर्ष भदौ ७ गतेदेखि हुन लागेको हो । नाडाले भदौ ७ गतेदेखि १२ गतेसम्म गरी पाँच दिन अटो शो भृकुटीमण्डपमा आयोजना गर्न लागेको हो ।
सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् सहितको अटो शोको १५ औं संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ रजिष्ट्रेशन खुलाइने जनाइएको छ ।
सिमित स्थान भएको र प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणमा अत्याधिक माग देखिएकोले यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने जनाइएको छ । प्रदर्शनीमा २ पाङग्रे, ४ पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् तथा ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने नाडाले जनाएको छ ।
विगतका केही वर्षहरुमा कमर्शियल भेहिकल नराखिएको र धेरै अबलोकनकर्ताको चासो रहेको कारण यसपटक कमर्शियललाई पनि स्टल बुकिङ खुल्ला गरिएको छ ।