वैदेशिक रोजगारीमा गएका नेपालीलाई अब आइपीओमा आरक्षण दिइने |
काठमाडौं । सरकारले विदेशमा काम गर्न गएका नेपालीलाई आइपीओमा १०% आरक्षण दिने भएको छ । अब विदेशमा काम गर्न गएका नेपालीले नेपालका कम्पनीहरुले आइपीओ खुला गर्दा १०% सेयर आरक्षणमा पाउनेछन् । यसैगरी, पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी गर्न खुला गर्न कानुनी व्यवस्था गरिने । यस्तै, एक परिवार एक बिमा कार्यक्रम साकार गरिने भएको छ ।
बिमा महाविपत्ति बन्ड जारी गर्न अध्ययन गरिने भएको छ । बिमा कलेज स्थापना गर्न प्रोत्साहन गरिनेछ । यसैगरी, १ अर्ब वा सोभन्दा बढी तथा ५ अर्बभन्दा बढी कारोबार गर्ने कम्पनी, प्राकृतिक श्रोतहरुको उपयोग गर्ने कम्पनी वा अनुदान अथवा कर छुट प्राप्त गर्ने कम्पनीहरुले आइपीओ जारी गर्नुपर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ७९–८० को बजेट प्रस्तुत गर्दै धितोपत्रको दोस्रो बजारलाई प्रतिशपर्धी बनाइने बताएका छन् । उनले बजेटमा जोखिम न्यूनीकरण गरी आम लगानीकर्ताको हक हित को संरक्षण गरिने उल्लेख गरेका छन् ।