कञ्चनपुरको बेलौरीमा सबैको लघुवित्तले दियो ब्यवसायिक बंगुरपालन तालिम |
काठमाडौं । तनहुँको बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले संस्थाका आफ्ना २५ जना ग्राहकहरुको सहभागितामा बैशाख २४ गतेदेखि २६ गतेसम्म कञ्चनपुरको बेलौरीमा “ब्यवसायिक बंगुरपालन तालिम” सम्पन्न गरेको छ । यस तालिममा प्रशिक्षक राम बहादुर चौधरी, रेनुका चौधरी, पवन कुमार श्रेष्ठ, बुद्धिराम चौधरी, जनक राम थारु रहेको संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
संस्थाले आफनो ग्राहक सदस्यहरुलाई उद्यमी बनाउनकालागि विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आईरहेको छ । ब्यवसायिक रुपमा बंगुरपालन गर्नमा यस तालिम फलदायि हुने लघुवित्तको अपेक्षा रहेको छ । कर्जाको सदुपयोगिता गरेमा मात्र फाईदा हुने भएकोले कर्जा सदुपयोगिता गर्न सुझाउनकासाथै तालिममा लिएका सीपलाई ब्यवहारमा लागू गर्न जानकारी गराइएको थियो।
तालिमको दोश्रो दिन तालिममा सहभागीहरुलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारीका बंगुरपालन कृषक कलावती देवी भट्ट/ गगन राज भट्टको रिभरसाइड पिग एण्ड एग्रो फार्मको बंगुर फार्ममा २५० वटा बंगुरहरु र खोर तथा कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका जोनापुरका बंगुरपालन कृषक दिपक चौधरीको बंगुरपालन फार्ममा २५ वटा बंगुर र खोर हेर्न अवलोकन भ्रमणको ब्यवस्था मिलाईएको थियो ।
संस्थाले ग्राहकहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहकहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पु¥याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गर्दै आई रहेको छ । संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दैं जाने लक्ष्य रहेको बारेमा संस्थाका नायब महाप्रवन्धकले जानकारी गराएका थिए ।
सहभागीहरुले तालिममा ब्यवहारिक कुराहरु सिक्न पाएको, दाना बनाउने विधि र बंगुरपालन कृषकहरुको फार्म प्रत्यक्ष अवलोकन गरी धेरै कुराहरु सिक्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । सहभागीहरुले तालिममा सिकेका कुराहरु ब्यवहारमा उतार्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको, यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि महाप्रवन्धकले जानकारी गराएका थिए ।
संस्थाले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० वटा शाखा कार्यालय, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ वटा कार्यालयहरुको सञ्जालबाट ७३,६७७ घरधुरीमा कार्यक्रम विस्तार गरेको छ ।