एनएमबि बैंक २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता |
काठमाडौं । एनएमबि बैंकले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ। प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनीद्वारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।
यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक रहेको छ । २१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत ४ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ जस मध्ये बैकहरुको ऋण लगानी रु. ३ अर्ब २१ करोड ३० लाख रुपैयाँ रहनेछ । यो आयोजना समेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको इन्भाइनमेन्टल एण्ड सोशल मिटिगेशन गाइडलाइन्स अनुसार एनएमबि बैंकले पर्यावरण तथा सामाजिक निती तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ । बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली अन्तर्गत प्रचलित अन्तराष्ट्रिय अभ्यासलाई आत्मसाथ गर्दै जलविद्युतका आयोजनामा लगानी गर्ने प्रतिवद्घता जाहेर गरेको छ ।
एनएमबि बैंकको हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु रहेको छ ।