५५ लाखभन्दा बढिले गरे स्वास्थ्य बीमा |
काठमाडौं । देशभर स्वास्थ्य बीमा गर्नेहरुको संख्या ५५ लाख नाघेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार सातै प्रदेशमा स्वास्थ्य बीमा गर्नेहरुको संख्या ५५ लाख ६४ हजार ५२९ पुगेको हो ।
सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । सुरुवाती दिनहरूमा स्वास्थ्य बीमाबारे नागरिकले चासो राखेका थिएनन् । तर, अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश र बीमा गरेपछि पाउने राहतबारे बुझेपछि स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दो रहेको छ ।
स्वास्थ्य बीमा गर्नेमा पुरुषको तुलनामा महिलाहरूको संख्या धेरै रहेको देखिन्छ । बोर्डको तथ्याङ्क हेर्ने हो भने स्वास्थ्य बीमा गर्नेे महिलाहरूको संख्या २८ लाख ७३ हजार ९७१ रहेको छ भने पुरुषको संख्या २६ लाख ८९ हजार ८८७ रहेको छ । बीमा गर्ने अन्यमा ६७१ जना रहेका छन् ।
बोर्डको तथ्याङ्क अनुसार लक्षित समूहहरूमध्ये बीमा गर्नेको संख्या १७ लाख १४ हजार ६२ रहेको छ । लक्षित समूहहरूमा गरिब विपन्न, ज्येष्ठ नागरिक, अपाङ्ग, एचआइभी संक्रमित, क्यान्सर पीडित, कुष्ठरोगी र राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीहरु रहेका छन् ।