आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा पुँजीगत खर्च ३०% पनि भएन |
काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब २ महिना भन्दा केही बढी मात्र सयम बाँकी रहेको छ । तर बजेट कार्यान्वयन गर्ने विषयमा भने पुरानै ढर्रा देखिएको छ । आइतबार (वैशाख १८ गते) सम्म सरकारले २९.३८% मात्र पुँजीगत खर्च गरेको छ । यसआधारमा अब अढाई महिना भन्दा कम अवधिमा विनियोजित पुँजीगत बजेटको ७०% भन्दा बढी खर्च गर्नुपर्ने देखिएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये वैशाख १८ गतेसम्म १ खर्ब ११ अर्ब ९ करोड ६६ लाख रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ । यता, अर्थमन्त्री जनार्दन शर्माले भने चालु आर्थिक वर्षमा पुँजीगत खर्च ९०% पुर्याउने गरी कार्य गर्न निर्देशन दिएका थिए । तर कमजोर पुँजीगत खर्च गर्ने प्रवृत्तिले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको हो ।
अर्थ मन्त्रालयले प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारण पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको बताउँदै आएको छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल १६ अर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।