२६ औँ राष्ट्रिय चिया दिवसमा ‘टी’ टेस्टिङ कार्यक्रम |
काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहिबार ‘राष्ट्रिय चिया दिवस’ मनाएको छ । ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात, आर्थिक समृद्धिको आधार’ भन्ने मुल नाराका साथ बोर्डले २६ औँ राष्ट्रिय चिया दिवस मनाइएको हो ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले झापामा उत्पादन भइरहेको सिटिसी चियाको गुणस्तरमा एक रूपमा कायम गर्न मापदण्ड निर्माणको कार्य अगाडि बढेको बताए । बोर्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा (एनआइएसटीइपी) परियोजनामार्फत चिया बगानको व्यवस्थापनदेखि बजारीकरणसम्मको गुणस्तरमा पारदर्शिता कायम गरी विश्व बजारको माग अनुरूप उत्पादक तथा उद्योगीलाई सहयोग गरिरहेको भट्टराईले बताए ।
बोर्डले हाल चियाको व्यवस्थापन र विकास गर्न अनुसन्धानरत निकाय नार्कसँग सम्झौता गरी प्रारम्भिक छनौटको कार्य अगाडि बढाएको छ । उत्पादित अर्थाेडक्स चियाको बजार प्रवर्द्धन लागि आफ्नै ट्रेडमार्क कार्यान्वयनमा ल्याई हालसम्म २६ वटा उद्योगले ट्रेडमार्क प्राप्त गर्न सफल भएका छन् । यस्ता धेरै उद्योगहरू मापदण्ड पुरा गर्ने चरणमा रहेको भट्टराईले बताए ।