श्रीलङ्काको शेयर बजारमा बुधवार १३ % वृद्धि |
काठमाडौं । १७ दिनपछि खुलेको श्रीलङ्काको शेयर बजारमा दुई दिनदेखि गइरहेको पहिरो बुधवार थामिएको छ। सोमबार र मंगलबार १० प्रतिशत भन्दा बढीले घटेपछि निर्धारित समय अघि नै बन्द भएको कोलम्बो स्टक एक्सचेन्जमा बुधवार भने १३ प्रतिशत भन्दा माथिको वृद्धि देखिएको छ।
कोलम्बो स्टक एक्सचेन्जको कारोबार मापक सूचक स्ट्यान्डर्ड एन्ड पुअर्स श्रीलङ्का २० (एस एन्ड पी एस एल २० )ले बुधवार मात्रै १३.५२ प्रतिशतको वृद्धि कायम गर्दा सूचक २८७.४६ अंकले बढेर २४१३.४६ अंकमा उक्लिएको छ।
कारोबारमा आएका कम्पनीहरूको मूल्य ५० प्रतिशतसम्म बढेपछि एकै दिनमा १३ प्रतिशत भन्दा माथिको वृद्धि देखिएको हो। कोलम्बो स्टक एक्सचेन्जको नियम अनुसार एकै दिनमा कम्पनीको मूल्य ५० प्रतिशतसम्म बढ्न सक्छन्। अर्कोतर्फ समग्र कारोबार मापक सूचकमा पनि घट्दा मात्रै कारोबार रोक्ने नियम छ । बढ्दा कुनै प्रकारको बन्देज लगाइने गरेको छैन। घट्दा मात्रै ब्रेक लाग्ने र बढ्दा कुनै रोक टोक नहुने भएकाे कारण बुधवार १३ प्रतिशतसम्म सूचक बढ्दा समेत शेयर कारोबार भएको हो। कोलम्बो स्टक एक्सचेन्जले समग्र शेयर बजार घट्दा भने सर्किट ब्रेकर मार्फत कारोबार रोक्ने गरेको छ।
कोलम्बो स्टक एक्सचेन्जको नियम अनुसार कारोबार मापक सूचक स्ट्यान्डर्ड एन्ड पुअर्स श्रीलङ्का २० (एस एन्ड पी एस एल २० )ले कारोबार अवधिभर पाँच प्रतिशत गुमाए पहिलो सर्किट ब्रेक लगाउँदै आधा घण्टाको लागि कारोबार स्थगन गर्नु पर्छ। त्यसैगरी कारोबार खुलेपछि पुन: साढे दुई प्रतिशत सूचक घटे दोस्रो सर्किट ब्रेक लगाउँदै पुन: अर्को आधा घण्टाकोलागि कारोबार रोक्नु पर्छ। दोस्रो सर्किट ब्रेक पछि खुलेको बजारले थप साढे दुई प्रतिशत गुमाए पुरै दिनको लागि कारोबार रोक्नु पर्ने नियम छ। समग्रमा बजारले १० प्रतिशत गुमाएपछि पुरै दिनको लागि कारोबार रोकिने नियम छ। सोही नियम अनुसार सोमबार र मंगलबार शेयर कारोबार निर्धारित समय भन्दा अघि नै बन्द गरिएको थियो।
गएको मार्च आठसम्म बजारले खासै ठुलो प्रतिक्रिया दिएको थिएन। बजार सामान्य अंकले नै तल माथि गरिरहेको थियो। गएको जनवरीमा मात्रै कोलम्बो स्टक एक्सचेन्जको कारोबार मापक सूचकले अहिलेसम्मकै सर्वाधिक अंक १३ हजार अंकको उचाइ कायम गरेको थियो। त्यस यता करेक्सन हुन थालेको बजार मार्च अन्तिमसम्म आठ हजार अंकको हाराहारीमा ओर्लिएको थियो। तर गत अप्रिल नौ तारिखदेखि बन्द भएको बजार सोमबारबाट मात्रै खुलेको हो। मुलुकमा आर्थिक सङ्कट गहिरिँदै गएको र यस्तो अवस्थामा लगानीकर्ताले समेत मुलुक आर्थिक अवस्थाका बारेमा जानकारी लिनु पर्ने भन्दै नियामक निकायले पाँच कारोबार दिन शेयर बजार बन्द गर्न निर्देशन दिएको थियो।
आर्थिक सङ्कट गहिरिँदै गएपछि त्यहाँको केन्द्रीय बैंकले सात प्रतिशतले ब्याजदर वृद्धि गरेको प्रभाव समेत शेयर बजारमा पर्न थालेको छ। श्रीलङ्का आर्थिक सङ्कटले ग्रसित छ। सन् १९४८ मा देशले स्वतन्त्रता प्राप्त गरेपछि सबैभन्दा खराव स्थितिमा अहिले श्रीलङ्का पुगेको छ।