बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला |
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावरले आज आइतबार वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १० लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ७ लाख कित्ता सेयर लम्जुङ जिल्लाको क्वहोलासोथार गाउँपालिको वडा नं ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ८ र ९ का स्थानीयलाई छुट्याइएको छ ।
बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिका र कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाका स्थानिय बासिन्दालाई छुट्याएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा वैशाख २५ गतेसम्म र ढीलोमा जेठ ९ गतेसम्म आइपीओ खुला रहनेछ । कम्पनीले जारी पुँजी १ अर्बबाट १० करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।
रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
स्थानीय बासिन्दाले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।