चुनावी चहलपहल सुरु भएसँगै नेप्सेमा ९५.४६ अंकको वृद्धि |
काठमाडौं । पुँजी बजार बल्ल सकारात्मक गतिमा देखिएको छ । निरन्तर घट्दोक्रममा रहेको नेप्सेले आइतबार आकर्षक छलाङ मारेको छ । सूचकका साथमा कारोबार रकम (टर्नओभर) मा वृद्धि भएको छ । यस दिन नेप्से सूचक ९५.४६ अंकले बढेर २४२०.९१ विन्दुमा आइपुगेको छ । २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। पछिल्लो समय साढे १ अर्बको हाराहारीमा कारोबार भइरहेको बजारमा यस दिन साढे २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन २३८ स्टकको ४३ हजार ४५० पटकको कारोबारमा २ अर्ब ५३ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको ६६ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से उच्च अंकले बढेसँगै यस दिन दुई दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये नेशनल हाइड्रोपावर कम्पनी, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको छ।यस दिन कारोबारमा आएका ४ वटा स्टकको मात्र मूल्य घटेको छ। जसमध्ये दुई ऋणपत्र रहेका छन्। सो बाहेक यस दिन नेष्डो समृद्ध लघुवित्त र सिद्धार्थ इक्विटी फण्डको मूल्य सामान्य घटेको हो।
आइतबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.६० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक ७.३२ प्रतिशत, विकास बैंकको ६.५७ प्रतिशत, लगानीको ५.६६ प्रतिशत र निर्जीवन बीमा तथा अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेका छन्।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शिर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
९ महिनादेखि करेक्सन फेजमा गएको बजार पछिल्लो समय पुनः घट्दै २३ सय विन्दुभन्दा तल झरेको थियो । यसबीचमा लगानीकर्ताले खरबौं रुपैयाँ गुमाए । निरन्तर बजार घटेपछि बजारमा भाउहरु निकै सस्तो भइसकेको छ । ५२ हप्ताकै न्यून विन्दुमा भाउ आइपुगेको छ । यसैगरी, पीई रेसियो हेर्दा पनि धेरैको भाउ २० भन्दा तल आइसकेको अवस्था हो । सोही कारण लगानीकर्ताहरु एकाएक आकर्षित भएको अनुमान छ ।
पुँजी बजारका लागि अहिले सकारात्मक माहोल बनिरहेको छ । आइतबारबाट स्थानीय निकाय निर्वाचनका लागि उम्मेदवारहरुको मनोनय दर्ता सुरु भएको छ । यससँगै चुनावी चहलपहल थप बढेको छ । चुनावी माहोलमा सेयर बजार सकारात्मक हुने अपेक्षा गर्रिएको छ । दल तथा उम्मेदवारले पैसा खर्च गर्ने भएकाले उक्त पैसा बजारमा आउनेछ । यसले तरलता सहज बनाउने सहयोग गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी, सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भइरहेका छन् । चरम तरलता अभाव र ब्याजदर वृद्धिको अवस्थामा पनि सूचीकृत कम्पनीहरुले औसतमा नाफा वृद्धि गर्न सक्ष्म भएका छन् । यो पनि सकारात्मक पक्ष हो । यसैगरी, वैशाख दोस्रो भइरहँदा सरकारी खर्चमा तेजी आउँदै जानेछ । सेयर बजारको सिजन पनि सुरु भएको छ । यी परिदृश्यहरुमा बजारमा क्रमशः सकारात्मक माहोल देखिने अपेक्षा गर्न सकिन्छ ।