नेपाली युवा विक्रम खड्काको वृक्षासनमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड |
काठमाडौं । नेपाली युवा विक्रम खड्काले वृक्षासनमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड पाएका छन् । वाच्छा १ पर्वत स्थायी ठेगाना भएका खड्काले वृक्षासन अर्थात् एउटा खुट्टा जमिनमा टेकेर अर्को खुट्टालाई टेकिएको खुट्टाको घुँडाभन्दा माथि राखेर दुवै हातलाई नमस्कार मुद्रामा राखेर गरिने आसनमा लगातार तीन घण्टा पचास मिनेट बसेर विश्व कीर्तिमान कायम गरेका हुन् ।
यसअघि उक्त कीर्तिमान भारतीय नागरिक सनत रथको नाममा एक घण्टा ६ मिनेट पचपन्न सेकेन्ड रहेको थियो । २०७८ साउन ५ गते विश्व कीर्तिमानका लागि प्रयास गरेर भिडियोसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सम्पूर्ण विवरण पठाइएकोमा गिनिज बुकले केही हप्ता अगाडि मात्र प्रमाणपत्र पठाएको थियो ।
गिनिज बुकले पठाएको उक्त प्रमाणपत्र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्व प्रधानन्याधीश खिलराज रेग्मीले बिहीबार खड्कालाई औपचारिक रूपमा प्रदान गरेका छन् । प्रमाणपत्र वितरण गर्दै रेग्मीले नेपाल आफैँमा आध्यात्मिक भूमि भएको चर्चा गर्दै खड्काको यो अर्वाडले नेपाललाई विश्व सामु थप परिचित गराउन सहयोग गरेको बताए ।
यस्तै गिनिज बुक अफ वर्ल्ड रेकर्ड राखेका खड्काले नेपालीहरूको पहिचान र नेपालको योगलाई विश्वसामु परिचति गराउन कठिन आसन वृक्षासन छनोट गरेर यो अभ्यास गरेको बताए । यो सम्मान आफ्नो मात्र नभएर सम्पूर्ण नेपालीको भएको उनको भनाइ थियो ।