तथ्याङ्क र तथ्याङ्कीय साक्षरता: किन र कसका लागि ? |
काठमाडौं । राज्यको नीति, योजना र विभिन्न प्रकारका निर्णय प्रक्रियादेखि व्यक्ति, परिवार र समुदायस्तरका विविध विषयहरू तथ्य, तथ्याङ्क र सूचनामा आधारित हुने क्रम बढ्दो छ । तथ्याङ्क र सूचना वर्तमान समयमा एक शक्ति र बहुउपयोगी सामग्रीका रूपमा बुझिन थालेको छ ।
कुनै कुनै आधारभूत र सार्वजनिक सरोकारका तथ्याङ्कहरू मात्र साक्षर व्यक्तिहरूले सजिलै बुझ्न सक्नेखालका हुन्छन् भने कतिपय महत्वपूर्ण तथ्याङ्कलाई बोध गर्नका लागि र तिनले प्रस्तुत गर्ने सन्दर्भगत वास्तविक अर्थलाई प्रयोग गर्न तथ्याङ्कीय साक्षरता अपरिहार्य हुन्छ ।
बोलीचालीमा तथ्याङ्क जति सरल र सर्वव्यापी देखिन्छ त्यो यथार्थमा गहन र जटिल पनि छ । विद्यार्थी, शिक्षक र प्राध्यापकदेखि आम नागरिक, सञ्चारकर्मी, जनप्रतिनिधि, प्रशासक, सबैस्तरका नीतिनिर्माता र निर्णयकर्ताहरूलाई सरकारी स्तरबाटै तथ्याङ्कीय साक्षरताको आवश्यकता लामो समयदेखि महसुस गरिएको थियो । त्यो आवश्यकता परिपूर्ति गर्ने अभीष्टले गर्दा नै यो पुस्तक तयार पारिएको हो ।
यसर्थ, यसका लक्षित पाठकहरू आम जनमानसदेखि राज्य सञ्चालनका यावत् अङ्गहरूमा क्रियाशील कर्मचारी, पदाधिकारी, व्यवस्थापक र विधायकसमेत हुन् । तथ्याङ्कीय विषयवस्तुलाई सबै प्रकारका सञ्चार माध्यममा समेट्ने सञ्चारकर्मीहरूलाई स्वाभाविक रूपमा यस पुस्तकको महत्वपूर्ण लक्षित समूह आत्मसात गरिएको छ ।
तथ्याङ्क के हो र कसरी उत्पादन हुन्छ भनेर ठुला ठुला किताबहरू बजारमा उपलब्ध नभएका होइनन् । खासगरी अङ्ग्रेजी भाषामा यसप्रकारका थुप्रै पुस्तकहरू पाउन सकिन्छ । हाम्रा लागि सरल नेपाली भाषामा लेखिएको र हाम्रो आफ्नै कामको प्रकृति, सन्दर्भ र भूगोलसँग सम्बन्धित उदाहरणसहित सजिलै बुझ्न सकिने तथ्याङ्कसम्बन्धी पुस्तकको सर्वथा अभाव रहेको थियो ।
आज सार्वजनिक गरिएको पुस्तक तथ्याङ्क र तथ्याङ्कीय साक्षरता एक हिसाबले खुला नापको पुस्तक हो । यस पुस्तकलाई तथ्याङ्कशास्त्रभित्रका विभिन्न सैद्धान्तिक र व्यावहारिक विषयवस्तुहरूको आधारभूत ज्ञान कोश बनाउने प्रयास गरिएको छ । नेपालको तथ्याङ्क प्रणालीको परिचय, संवैधानिक, कानुनी र नीतिगत व्यवस्थादेखि यस पुस्तकमा स्थूल तथ्याङ्क र डिजिटल साक्षरतासम्मका पठनीय सामग्रीहरू समावेश गरिएका छन् ।
तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रस्तुतिकरण, व्याख्या, वितरण, प्रयोग र भण्डारणसमेतका चरणहरूमा हुने उपयोगी कुराहरूलाई यस पुस्तकले प्रकाश पारेको छ ।
तथ्याङ्कको स्रोत के हो ? आधिकारिकता के हो ? विधि के हो ? राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभ्यास र मान्यताहरू के हुन् जस्ता प्रश्नहरूको सरल उत्तर यस पुस्तकमा पाउन सकिन्छ ।
यो पुस्तकले दुई वटा आवश्यकता परिपूर्ति गर्ने विश्वास लिइएको छ । पहिलो, पाठक र जिज्ञासुहरूले विगत लामो समयदेखि खोजी गरिरहेको तथ्याङ्कीय साक्षरतासम्बन्धी पुस्तकको अभाव सम्बोधन भएको छ ।
दोस्रो, यसले नीति, योजना र निर्णय निर्माण प्रक्रियामा तथ्याङ्कीय सचेतनाको मर्म र आवश्यकतालाई पैरवी पनि गरेको छ । तथ्याङ्कीय सचेतना र सीपयुक्त मानव संसाधनले मात्र कुनै व्यवस्थापन, प्रशासन र शासन तथ्यसम्मत, पारदर्शी र जवाफदेही हुन सक्दछ । तथ्याङ्कीय साक्षरता र सचेतनाको लागि यसलाई हामीले एउटा प्रस्थान बिन्दुका रूपमा लिएका छौँ ।
पुस्तक स्वयम्मा केही होइन जब त्यसलाई पढिन्न र व्यवहारमा रूपान्तरण गरिँदैन । तथ्याङ्कीय साक्षरतालाई केन्द्रदेखि स्थानीय तहसम्म विस्तार गर्ने हाम्रो उद्देश्यमा यो पुस्तक एक आधारभूत सन्दर्भ सामग्रीका रूपमा प्रयोग हुनेछ भन्ने विश्वास लिएका छौँ । यस पुस्तकको सबल पक्ष भनेको विभिन्न परिच्छेदहरूमा आवश्यकतानुसार वास्तविक तथ्याङ्कमा आधारित उदाहरणहरू हुन् ।
त्यसैगरी यहाँ पाठकहरूले आफ्नो बुझाइ र सिकाइलाई स्वयम् परीक्षण गर्न सकून् भन्ने ध्येयले प्रत्येक परिच्छेदको अन्त्यमा अभ्यासका लागि प्रश्नहरू राखिएका छन् । विषयवस्तुलाई विस्तारमा अध्ययन गर्न चाहने जिज्ञासु पाठकहरूका लागि सन्दर्भ सामग्रीहरूको सूची पनि दिइएको छ । तथ्याङ्क विश्लेषणका लागि अत्याधुनिक कम्प्युटर एप्लिकेसनहरू उपलब्ध छन् ।
सामान्य व्यक्तिहरूको उपयोगमा आउने माइक्रोसफ्ट एक्सेलको आधारभूत ज्ञानदेखि विश्वभरि नै लोकप्रिय रहेको क्त्ब्त्ब् सफ्टवेयरको समेत कार्य उपयोगी ज्ञान यस पुस्तकले दिने जमर्को गरेको छ ।
राष्ट्रिय योजना आयोगको समन्वयकारी नेतृत्व, केन्द्रीय तथ्याङ्क विभागका विज्ञहरूको प्राविधिक ज्ञान तथा सीप, द एसिया फाउण्डेसनमार्फत् बेलायती सहयोग नियोगको आर्थिक सहयोगमा विकास उद्यमी (नेपाल इन डाटा)को व्यवस्थापकीय संलग्नताको समष्टिगत सहकार्यमा यो पुस्तक तयार गरिएको छ ।
यसलाई राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग र विकास उद्यमीसमेतको वेबसाइटबाट निशुल्क डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यसका मुद्रित प्रतिहरू तत्काल केन्द्रदेखि स्थानीय तहसम्मका सरोकारवालाहरूको प्रयोगार्थ उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।