९ महिनामा २७ वाणिज्य बैंकको नाफा ५० अर्ब ९७ करोड |
काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । चैत पहिलो साता भित्रै वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकलेहरुले साउनदेखि चैतसम्ममा कुल ५० अर्ब ९७ करोड ७८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।
यद्यपि, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा जम्मा ०.४६१ प्रतिशतले मात्र बढी हो । आर्थिक वर्ष २०७७/७८ को ९ महिनामा २७ वटा बैंकहरुले कुल ५० अर्ब ७४ करोड २६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । तर, यस वर्ष २३ करोड ५२ लाख ५ हजार रुपैयाँले मात्र बैंकहरुको नाफा बढेको हो ।
तथ्याङ्कअनुसार समीक्षा अवधिमा १५ वाणिज्य बैंकको नाफामा वृद्धि भएको छ भने १२ वटा बैंकको नाफामा ब्रेक लागेको छ । वित्तीय रिपोर्ट अनुसार तेस्रो त्रैमास अर्थात् साउनदेखि चैत मसान्तसम्म ९ महिनामा नाफा वृद्धि गर्ने बैंकहरुमा सेन्चुरी बैंक, सिभिल बैंक, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनसीसी बैंक, माछापुच्छ्रे«े बैंक, एनआईसी एसिया बैंक रहेका छन् ।
यस्तै, सनराइज बैंक, हिमालयन बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र एभरेष्ट बैंकले समेत सो अवधिमा नाफा वृद्धि गर्न सफल भएका छन् । तर, सोही अवधिमा अघिल्लो वर्षको तुलनामा नाफा गुमाउने बैंकहरुमा भने तीन वटा सरकारी बैंक नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैँकसँगै अन्य १० बैंकहरू परेका छन् ।
कुमारी बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, प्रभु बैंक, बैंक अफ काठमाडौं, नेपाल बंगलादेश बैंक र लक्ष्मी बैंकको नाफामा ब्रेक लाग्न पुगेको छ ।