घट्यो नेपाल बङ्गलादेश बैंकको नाफा |
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा घटेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.२४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३९.०८ प्रतिशत घटेको छ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ ६९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.१६ गुणा रहेको छ।
पछिल्लो ९ महिनामा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ५.८२ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ५.८६ प्रतिशत घटेको छ भने कर्जा १०.९५ प्रतिशत बढेको छ।