कुमारी बैंकको नाफा घट्यो |
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेपनि खुद नाफा सामान्य घटेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.३२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज, कर्मचारी खर्च लगायतका खर्चहरु बढेपछि बैंकको खुद नाफा घट्न दबाब पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.६२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.७७ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निष्क्रिय कर्जा १.०९ प्रतिशतबाट घटेर ०.९६ प्रतिशतमा झरेको छ। यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज २५ करोड ९५ लाख रुपैयाँ पुगेको छ। यसका साथै बैंकको कर्मचारी खर्च १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ भने अन्य सञ्चालन खर्च ६६ करोड रुपैयाँ रहेको छ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ३ पैसा घटेर १६ रुपैयाँ ३४ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ६५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५८ गुणा रहेको छ।
पछिल्लो ९ महिनामा बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष १०.४७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १३.४२ प्रतिशत बढेको छ भने कर्जा १३.०८ प्रतिशत बढेको छ।