दरवारमार्गमा भोली भव्य महोत्सव | एफएनसीसीआई, एनसेल सहित निजी क्षेत्रको सहकार्यले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुुग्ने
काठमाडौं । आज शनिबारदेखि १५ औं दरबारमार्ग महोत्सव सुरू भएको छ । आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धन र कोभिडले थलिएको उद्योग व्यवसायलाई पुनरुत्थान गर्ने लक्ष्यसहित महोत्सव सुरू भएको हो । महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुति हुनेछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक नेपाल उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ ।
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना हुन लागेको हो । महोत्सवको मूल नारा सहकार्य ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विशेष सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो । महोत्सवमा गीत संगीत, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरु सहित यो महोत्सव बेलुका ८ः १५ बजेसम्म आयोजना गरिनेछ ।
महोत्सवमा दिपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुर सुधा लगायत अन्य कलाकार तथा समुहहरु जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिँदै आगन्तुकहरुलाई गीत संगीतले मनोरञ्जन दिनेछन् । साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुतीहरु रहनेछन् ।
महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरु पनि प्रदर्शनीमा राखिने छन् । त्यसैगरी महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रदर्शनीमा रहने छन् ।
महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन् । हाल ९० प्रतिशत बढि जनसंख्याले कोभिड विरुद्धको खोप लगाई सकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा निजी क्षेत्रको सहकार्यमा आयोजना हुन गइरहेको यस महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउने विश्वास गरिएको छ ।