सेयर बजारका लागि २०७८ उतारचढावको वर्ष, नयाँ वर्ष २०७९ मा नेप्सेले नयाँ रेकर्ड बनाउने अपेक्षा’ |
काठमाडौं । पुँजी बजारमा विक्रम संवत २०७८ सालको अन्तिम कारोबार दिन सकारात्मक बन्दै नयाँ वर्ष २०७९ को स्वागत गरेको छ । वर्षको अन्तिम दिन सेयर बजार सकारात्मक बन्दै लगानीकर्तालाई खुशी दिएको हो । यद्दपि, २०७८ सालको अधिकांश समयमा नेप्सेले लगानीकर्तालाई निराश बनायो । हुन त २०७८ मै पुजी बजारले नयाँ रेकर्ड कायम गरेको हो । यही वर्ष नेप्से सूचक र सेयर खरिदबिक्री रकम इतिहासकै उच्च विन्दुमा पुग्न सफल पनि भयो । तर यो क्रममा भदौ लागेसँगै ब्रेक लाग्न पुगेको थियो ।
गत साउन ३१ गते इतिहासकै उच्च २१ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको थियो । साथै, भदौ २ गते नेपालको सेयर बजार सूचक हालसम्मकै उच्च ३,१९८.६ विन्दुमा बन्द भएको थियो । तर त्यसपछि भने सेयर बजार निरन्तर घट्दै जाँदा लगानीकर्ताको हर्ष निराशामा बदलियो । दैनिक २१ अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको सेयर बजारमा अहिले कारोबार सुस्त हुँदै दैनिक २ अर्ब भन्दा तल झरिसकेको छ ।
२०७८ सालको अन्तिम दिन सेयर बजार सूचक नेप्से २४१५.२४ विन्दुमा बन्द भएको छ । जुन गत वर्ष अर्थात २०७७ सालको अन्तिम विन्दु (२७१४.७९) भन्दा ११.०३% थोरै हो । त्यस्तै, इतिहासकै उच्च विन्दुको तुलनामा नेप्से सूचक अहिले २४.४९% तल झरिसकेको छ । सेयर बजारका लगानीकर्ता वर्षको अधिकांश समय निराश बन्नुको प्रमुख कारण बन्यो, चालु आर्थिक वर्षको मौद्रिक नीति । मौद्रिक नीति लगानीकर्ता कस्ने नियतका साथ आएपछि सेयर बजारमा नकारात्मक असर परेको हो ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सीमित गर्यो । यसको लगानीकर्ताले चौतर्फी विरोध पनि गर्दै आएका छन् । यो वर्ष पुँजी बजारमा नीतिगत परिवर्तन हुनुका साथै दुई नियामकले नयाँ नेतृत्व पाएका छन् भने पछिल्लो समय केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । यसैबीच, धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई जोखिमयुक्तको सूचीमा राखेर नाम नै सार्वजनिक गरिदियो । यसले पनि बजारमा ठूलो तरंङ ल्यायो ।
यसका साथै केन्द्रीय बैंकहरुले सीसीडी रेसियो खारेज गरी सीडी रेसियो ९०% बनाउनुपर्ने व्यवस्था गरिदियो । जसले तरलता संकुचित बनाएको भन्दै अहिलेसम्म पनि लगानीकर्ता र व्यवसायीहरु यसको खारेजीको माग गर्दै आइरहेका छन् । यस्तै, तरलता अभाव भएपछि वर्षको सुरुवातको तुलनामा बैंकहरुको ब्याजदर अहिले केही बढेको अवस्था छ ।
यसैबीचमा वर्तमान अर्थमन्त्री जनार्दन शर्मादेखि पूर्वप्रधानमन्त्री प्रचण्डसम्मले सेयर बजारका बारेमा नकारात्मक अभिव्यक्ति पनि दिए । यसको चौतर्फी आलोचना भएको थियो भने बजारलाई पनि नकारात्मक असर गरेको थियो । तथापि, अर्थमन्त्री शर्माले वर्षको अन्तिममा भने पुँजी बजारप्रति सकारात्मक अभिव्यक्ति दिंदै आएका छन् ।
दुई नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुखहरुले आफ्नो आफन्तको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको सार्वजनिक भएपछि बजारमा नयाँ तरङ्ग आयो । योसँगै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिए भने बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बित भए । योसँगै यसै वर्ष यी दुवै नियामकले नयाँ नेतृत्व पाएका छन् । दुवैले बजार सुधारका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
पछिल्लो समय मुलुकको अर्थतन्त्रको प्रमुख सूचकहरु दबाबमा परेका छन् । जसले गर्दा सरकारले आयातमा कडाई गरेको छ ।