सानिमा बैंक र नेपाल नेत्र ज्योति संघबीच समझदारी पत्रमा हस्ताक्षर |
मेलम्ची । सानिमा बैंक तथा नेपालमा दृष्टिहिनताको क्षेत्रमा कार्यरत संस्था नेपाल नेत्र ज्योति संघबीचमा दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ।
उक्त समझदारी पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रो. डा. चेतराज पन्तले हस्ताक्षर गरेका हुन्।
यसै क्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेका नेपाल नेत्र ज्योति संघ मातहतमा सञ्चालित आँखा उपचार केन्द्र तथा अस्पतालमा आँखासम्बन्धी रोगको उपचार तथा उपकरण खरिदका लागि आर्थिक सहयोग उपलब्थ गराउने भएको छ।
बैंकले विगतमा पनि दृष्टि सम्बन्धी समस्याको रोकथाम र न्यूनीकरणको लागि संघसँग सहकार्यको काम गर्दै आएको छ। यस समझदारीले सम्बन्धित प्रदेशका लक्षित वर्गमा दृष्टि सम्बन्धी समस्याको समयमै पहिचान, रोकथाम तथा उपचारमा अझ बढि टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा एटिएम. संचालनमा छन्।