राउण्ड टेबल नेपालले गर्यो कक्षा कोठा हस्तान्तरण |
बीरगञ्ज । राउण्ड टेबल नेपालले बीरगञ्जस्थित टेबल नं ८ र १३ को संयुक्त आयोजनामा निर्माण भएको चार वटा कक्षा कोठा हस्तान्तरण गरेको छ ।
बीरगञ्जको छपकैया वडा नं.३ मा रहेको तारा चन्द किसनलाल आधारभुत विद्यालयलाई हस्तान्तरण गरेको छ ।
यी ४ नवनिर्मित कक्षा कोठाबाट विद्यार्थी लाभान्वित हुनेछन् ।
विद्यालयको भवनमा एक कार्यक्रमको आयोजना गरी राउण्ड टेबल नेपालका केन्द्रिय अध्यक्ष आनन्द बाहेतीले नवनिर्मित सुविधा सम्पन्न ४ वटा कक्षा कोठा विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
आइतबार राउण्ड टेबल ८ का अध्यक्ष दिपल खन्ना र राउण्ड टेबल १३ का अध्यक्ष चिराग अग्रवालको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा तीन महिनाअघि विद्यालयमा २६ लाख रुपैयाँ बरावरको भौतिक पूर्वाधार निर्माण गर्ने आयोजना अन्तर्गत अहिले चार वटा कक्षा कोठा र त्यसका लागि कुर्सी, टेबल, कालोपाटी, आदि सहित निर्माण गरी हस्तान्तरण गरिएको राउण्ड टेबल नेपालका सदस्यले बताए ।
राउण्ड टेबल नेपाल गैर नाफामूलक नेपाली संस्था हो, जसले देशका विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ ।
अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षाकोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । राउण्ड टेबल इन्टरनेशनलसंग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल देशर अहिलेसम्म ३० च्याप्टरमा कुल ४५३ सदस्य रहेका छन् ।
१८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना फ्रिडम थ्रू एजुकेसन सञ्चालन गरिरहेको छ ।
संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामाग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ ।
राउण्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने यो निर्माणमा अहिले सम्ममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । शिक्षा क्षेत्रसंगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ ।
खोलिएका विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चारदेखि पाँच हजार बिरामीले निस्शुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने थ्यालेसिमियानामक रोगका बिरामीहरुलाई लक्षितगर्दै विगतचार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ ।
त्यसैगरी कोरोना महामारीका प्रोजेक्ट लाइफलाइन अन्तर्गत विरामीहरुलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बराबरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको थियो ।