अपि पावरले चैत २५ गतेदेखि हकप्रद निष्कासन गर्ने |
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
अपिले १०० रुपैयाँ अंकितका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । उक्त हकप्रदमा वैशाख १५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाकारी दिएको छ ।
हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते एक दिन बुक क्लोज गरिने जानकारी दिएको छ । बुक क्लोजको आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीले मात्र अपिको हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
फागुन २६ गते बोर्डको अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रुपैयाँ रहेको छ ।
यो हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अपिले २०७८ साल असोज २५ गते यो हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो ।
अपि पावरले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गर्न लागेको हो ।