भारतको मुम्बईमा ओटीएम ट्रावल मार्ट सम्पन्न | नेपालबाट पर्यटन बोर्ड सहित १७ निजी कम्पनीको सहभागिता
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले भारतको मुम्बईमा आयोजना गरिएको ‘आउटबाउण्ड ट्राभल मार्ट’ (ओटीएम) मा सहभागिता जनाएको छ । फागुन ३० देखि चैत्र २ गते (१२–१६ मार्च २०२२) सम्म मुम्बईको बोम्बे एक्जिवेशन सेन्टरमा आयोजित सो कार्यक्रममा नेपालबाट बोर्ड र नेपालका विभिन्न १७ वटा पर्यटनसंग सम्बन्धित निजी संस्थाहरूको सहभागिता रहको थियो ।
सो मार्टमा नेपाल सहित मार्टमा २० देशबाट ६ सयभन्दा बढि प्रर्दशक तथा भारतको २९ भन्दा बढि राज्य र सात विभिन्न क्षेत्रबाट पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा माल्दिप्सका पर्यटन मन्त्री डा. अबदुल्लाह मौसुम, तमिलनाडुका पर्यटन मन्त्रि डा.एम.माथिभेन्थन, माल्दिप्सको पर्यटन बजार तथा जनसम्पर्क कर्पोरेशनका प्रबन्ध निर्देशक तोयिब मोहम्मदलगायत विभिन्न देशका सरकारी तथा निजि क्षेत्रका अधिकारीहरुले नेपाली प्याभिलियनको निरिक्षण समेत गरेका थिए ।
सो अवसरमा कोभिडपछिको नेपालको पर्यटनका अवस्था र भईरहेका क्रियाकपालबारेमा धेरै जिज्ञासा राखेकोे कार्यक्रममा सहभागी नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले जानकारी दिए। यस्तै नेपाल प्याभिलियन भ्रमण गर्ने अन्य सहभागीहरुबाट आएका जिज्ञासासहित नेपालले कोभिड पछि नेपाल करिब पूर्ण रुपमा खुला भइसकेको, नेपाल भारत तथा अन्य देशहरुबाट समेत नियमित उडानहरू शुरु भएको र नेपाल पर्यटनको नियमित गन्तव्य बाहेक वेडिङ डेस्टिनेशन, फिल्म छायांङ्कन तथा अन्य माईस पर्यटनको लागि उत्कृष्ट गन्त्तव्य रहेको कुरा सो अवसरमा जानकारी गराएको थियो ।
भारत नेपालको महत्वपूर्ण पर्यटन स्रोत बजार रहनुका साथै स्थलमार्ग तथा हवाईमार्गबाट नेपाल भ्रमणको लागि थप सहजता बन्दै गएको सो अवसरमा बताइएको थियो । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भारतका विभिन्न सहरहरुमा सिधा उडान शुरु गरेको सन्र्दभमा नेपाल भारत बीचको पर्यटन प्रर्वद्धनमा थप सहजता थपिने विश्वास गरिएको छ । कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्डलाई डिजाइन एण्ड डेकोरेसन अवार्ड प्रदान गरिएको थियो।