आज तराईमा हर्षोल्लासका साथ होली मनाईदै |

काठमाडौं । रंगहरुको पर्व होली आज (चैत ४ गते) तराईमा हर्षोल्लासका साथ मनाइँदै छ । पहाडी क्षेत्रमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने प्रचलन रहँदै आएको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । तराईमा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै मनाउने गरिन्छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।