तरलता व्यवस्थापनका लागि उद्योग संगठन मोरङको अनुरोध |

काठमाडौं । तरलता अभावलाई सम्बोधन गरि उत्पादनमुलक उद्योगहरुका औद्योगिक कच्चा पदार्थ तथा मिल मेशिनरीहरुको आयातमा थप सहजिकरण गर्न उद्योग संगठन मोरङले नेपाल राष्ट्र वैंकलाई अनुरोध गरेको छ ।
वर्तमानको कठिन समयमा उत्पादन प्रकृयालाई निरन्तरता दिई बजारमा वस्तु आपूर्ति गर्दै आएका उद्योग व्यवसायले भोगिरहेको वित्तिय अभावको समस्यालाई मध्यनजर गरी त्यस्ता उद्योगहरुको निरन्तर र दीर्घकालिन सञ्चालनका लागि तत्काल रु.५०० करोड रि फाइनान्सिङ्गको तत्काल व्यवस्था गर्न सूझाब दिएको हो ।
तरलता अभावलाई सम्बोधन गर्न सरकारको विकास तथा पूजिगत खर्चमा जाने राष्ट्र बैंकमा निक्षेपकारुपमा जम्मा भएको रकम बैंक तथा वित्तिय संस्थाहरुको खातामा ट्रान्सफर गरि नगद उपयोग गरि तरलता व्यवस्थापन गरिनु पनें आग्रह गरेको हो । हाल स्थानीय सरकारहरुको ८० प्रतिशत रकम वाणिज्य बैकंहरुमा निक्षेपका रुपमा राख्दै आएको दृष्टान्तलाई मध्यनजर गर्दै संघिय र प्रदेश सरकारको खातामा राष्ट्र बैंकमा रहेको रकमलाई बैंक तथा वित्तिय संस्थाहरुमा जम्मा गर्ने व्यवस्था तत्काल मिलाउन समेत आग्रह गरेको हो ।
यस्तै ऋण लिई संचालनमा रहेका उत्पादनमूलक उद्योगहरु वढदो व्याज दरको मारमा पर्ने भएकाले संस्थागत निक्षेपको व्याजदर सर्वसाधारणको निक्षेपमा दिइने व्याज भन्दा कम्तीमा ३ अंकले कम हुने गरि कायम गर्ने र उत्पादनमुलक क्षेत्रमा प्रवाह भएको अथवा हुने कर्जाको व्याजदर एक अंकमा नबढ्ने गरि कायम गर्न अनुरोध गरेको छ ।
रुस र युक्रेन बीचको युद्ध, अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा उकालो लागिरहेको ईन्धनको मूल्य, डलरको वढदो भाउ लगायत कच्चा पदार्थको खरिदमा भईरहेको वृद्धि तथा विश्व वजारको परिवर्तित अवस्था र वर्तमान समयमा सामना गर्न परिरहेको आन्तरिक र वाह्रय चूनौतिलाई मध्यनजर गरी तरलता प्रवाहको व्यवस्थापन तथा व्याजदर नियन्त्रणका लागि संगठनले नेपाल राष्ट्र वैंक समक्ष माथि उल्लेखित सुझावहरु पेस गरेको हो ।