विविध सुविधासहित एनसेलले गर्यो लैनचौर मैदानको पुनर्निर्माण |
काठमाडौं । एनसेल आजियाटा लिमिटेड (एनसेल) ले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको लैनचौर मैदान पुन:निर्माण सम्पन्न गरेको जानकारी दिएको छ । विभिन्न सुविधासहित पुन:निर्माण तथा स्तरोन्नतिपश्चात् हालै काठमाडौं महानगरपालिका-२६ लाई एक समारोहबीच एनसेलले मैदान हस्तान्तरण गरेको हो । यो मैदान अब आम नागरिकका लागि खुला गरिएको एनसेलले जनाएको छ ।
मैदान वडा र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुन:निर्माण तथा स्तरोन्नति गरिएको एनसेलको दाबी छ। नवनिर्मित मैदान खुला गरिएको अवसरमा गत शनिबार स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फूटबल खेल पनि आयोजना गरिएको थियो ।
५४ हजार ९२१ वर्ग फिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फूटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा राखिएको एनसेलले जनाएको छ । स्थानीय समुदाय र वडाको अनुरोधअनुसार एनसेलले यसको निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको थियो । कम्पनीले मैदान आगामी २ वर्षसम्म मर्मतसम्भार गर्ने पनि जानकारी दिएको छ ।