बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन |
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज बिहीबार (फागुन २६ गते) अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले माघ २७ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो ।
जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ । बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं. ७ का स्थानीयलाई छुट्याइएको छ ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १०% सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ ।
यस आइपीओमा महालक्ष्मी विकास बैंकको खाडीचौर शाखा, र सिन्धु विकास बैंकको खाडीचौर, जलबिरे तथा लामोसाँगु शाखाबाट आवेदन दिन सकिनेछ । यस्तै, कुमारी बैंकको जलबिरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखा तथा लक्ष्मी बैंककोे खाडीचौर र चौतारा शाखाबाट पनि आइपीओ भर्न सकिन्छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले बलेफीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।